काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा निरन्तर सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपाल वरीयताको १४ औं स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १४ औं स्थानमा उक्लिएको हो। यो सँगै नेपालले पछिल्लो वरीयतामा नेदरल्यान्ड्सलाई पछि पारेको छ । नेपालको सुधार हुँदा नेदरल्यान्ड दुई स्थान तल झदै १६ औं स्थानमा पुगेको छ । नेपाल भन्दापछि ओमान १५ औं, नेदरल्यान्ड्स १६ औं, अमेरिका १७ औं र नामिबिया १८ औं स्थानमा छन्।
युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन्। नेपाल भन्दा अगाडि जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं र आयरल्यान्ड ११ औं स्थानमा छन्। नेपाल भन्दा अघि वरीयतामा एसोसिएट टोलीको रूपमा स्कटल्यान्ड मात्रै छ । घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग–२ खेल्नुअघि १९ औं स्थानमा रहेको नेपालले त्यसपछिका १२ खेलमा ११ जित निकाल्दै आफूलाई ५ स्थान सुधार गरेको हो।
नयाँ ओडिआई वरीयतामा अष्टेलिया शीर्ष स्थानमा उक्लिएको छ। न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छ। इंग्ल्यान्ड चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान दशौं स्थानमा छन्। टि२० आई विश्व वरियतामा भने नेपाल १६ औं स्थानमा यथावत छ ।
खेलाडीतर्फ ओडिआई वरियतामा नेपालका कप्तान रोहित पौडेल ब्याटिङतर्फ एक स्थान खस्किदै ५९ औं स्थानमा पुगेका छन्। ओपनर आसिफ शेख एक स्थान सुधार गर्दै ६५ औं स्थानमा छन्। बलिङतर्फ सन्दीप लामिछाने २२ औं स्थानमा यथावत छन्। दीपेन्द्र सिंह ऐरी ५३ औं स्थानमा यथावत छन् । सोमपाल कामीले एक स्थान सुधार गर्दै ६८ औं स्थानमा उक्लिएका छन् । करण केसी ९६ औं स्थानमा यथावत छन्।