विमानस्थलको अनुगमनमा उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन तथा गतिविधिहरूलाई डिजिटलाइज गर्न जरुरी रहेको भन्दै उनले शनिबार विमानस्थलमा पुगेर यस्तो निर्देशन दिएका हुन् । शनिबार उपप्रधानमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका थिए ।


अनुगमनको क्रममा उनले अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए । यस क्रममा गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहितका अधिकारीहरूले विमानस्थल प्रशासनका चालु गतिविधिहरू र नयाँ योजनाको आवश्यकताबारे रिपोर्टिङ गरेका थिए ।

सम्बोधनको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै महत्त्वको ठाउँ भएकाले त्यसलाई कमजोर गर्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताए \अन्तर्राष्ट्रिय विमानस्थल भनेको राष्ट्रिय पहिचान हो । यहाँबाट अपराध आयात नहोस् भनेर हामी अतिरिक्त सक्रिय हुनु जरुरी छ, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

यस्तै उनले विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुबैप्रति अत्यन्त सहृदयी हुन अध्यागमनका कर्मचारीहरूलाई निर्देशन दिएका थिए । पर्यटकको प्रवेशद्वार आफैंमा देशको संस्कृति र सभ्यताको द्वार हुनुपर्ने भन्दै उनले सबै निकायबीचको सामूहिकता र अनौपचारिक सेवाभावले नै विमानस्थलको पनि सुधार हुनसक्ने बताएका थिए ।