गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षको जिम्मेवारी बद्री केसीलाई

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रबिना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन् ।

यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए । कार्यकारी अध्यक्ष डा. केसीले छ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा सङ्घको ११औँ महाधिवेशन पनि गर्नुपर्ने तालिका छ । समारोहमा अध्यक्ष केसीले आगामी छ महिनामा गर्ने कामबारे जानकारी गराएका थिए । यसैगरी, अध्यक्ष थापाले विगत छ महिनामा भए गरेका कामबारे अवगत गराएकी छिन् ।

अध्यक्ष आचार्यले सहमतिअनुसार आगामी ११औँ महाधिवेशन एकताको महाधिवेशन हुने र त्यसमा सङ्घका सबै सदस्य अट्ने विश्वास व्यक्त गरे । कार्यक्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष भवन भट्ट, सङ्घका पदाधिकारी तथा पूर्वपदाधिकारीले नेपालको समृद्धिमा योगदान दिने र सङ्घलाई आफ्नो उद्देश्यअनुसारको अभियानमा डोर्‍याउन सबैको सहयोगको अपेक्षा गरे ।