काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले नेपालका बैङ्क वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको बताए । उनले तत्काल सानोतिनो धक्काले नेपालका बैङ्क तथा वित्तीय संस्थामा जोखिम नआउने बताए । सबै वित्तीय संस्थाको तथ्याङ्क बलियो रहेको उनको भनाई छ । उनले बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताए ।
पछिल्लो समय बैङ्कहरूमा तरलता सहज हुँदै गएको समेत उनको भनाई छ । उनले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको जानकारी दिए ।
गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गरे । उनले फागुनदेखि कर्जाको ब्याजदरस्थिर भए पनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताए । विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको उनको भनाई छ ।