काठमाडौं । निजी क्षेत्रका उद्यमीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति छान्न आज निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चल्ने छ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुनेछ ।
महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् । अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।
कार्यसमिति सदस्यमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल सर्वसम्मत भइसकेका छन् । अहिले महासंघको अध्यक्ष शेखर गोल्छा छन् ।