काठमाडौं । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् । उनी धनगढी आएका छन् । उनी धनगढीमा जारी मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट आएका हुन् । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा र आर्थिक मामिलामन्त्री नरेश शाहीले स्वागत गरे ।
सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविधालय, भारत उत्तराखण्डको कुमाऊ विश्वविद्यालयको संयुक्त आयोजनामा भइरहेको सम्मेलनको समापन समारोहमा प्रमुख वक्ताका रूपमा चौथाइवालेले सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद आरजु देउवाको समेत उपस्थिति हुने आयोजकले जनाएको छ ।