काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक, निजी पूर्वाधान निर्माण, मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन दिर्देशन दिएको हो । महानगर क्षेत्रमा संरचना निर्माणका क्रममा सडक छेउ र पेटीमा राखिने निर्माण सामग्रीले दुर्घटनाको जोखिमसँग पैदलयात्रीलाई हिंड्नसमेत अप्ठेरो हुने गरेको छ । महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउने भनेको छ ।
सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्णाधीण स्थल संकेत गर्नसमेत महानगरले अनुरोध गरेको छ । यस्तो निर्माणका क्रममा नागरिकलाई हुने सास्तीलाई कम गर्न सकभर राति ८ बजेपछि मात्रै काम गर्न गराउन सार्वजनिक निकायलाई महानगरले आग्रह गरेको छ । निर्माण कार्य पूरा भएपश्चात सम्बन्धित निकायले नै सडक वा सडक पेटीको सरसफाइ गरिदिनुपर्ने महानगरले बताएको छ । यदि सूचनामा उल्लिखित कार्य नभए ऐन बमोजिम जरिवान गर्ने चेतावनीसमेत महानगरले दिएको छ ।