काठमाडौं । पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउन काठमाडौं महानगरपालिका नै अघि सरेको छ । उसले सेवा प्रदायकलाई १५ दिनको समयसीमा समेत दिएको छ । नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकिएको महानगरपालिकाले जनाएको छ ।
सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरु दूरसञ्चार प्राधिकरण, सीसीटिभी क्यामेरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केवुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपाल (आईएसपीएएन) लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध गरिएको छ ।
अहिले सडक किनारामा भएका धेरै पोलहरु विद्युत प्राधिकरण र र नेपाल टेलिकमका हुन् । सेवाप्रदायकसँग प्राधिकरणले नै शुल्क तिरेर पोलमा तार राख्न दिएको हो । तर, उनीहरुले पोल भाडा तिर्न आनाकानी गर्दा विवाद चर्किएको छ । प्राधिकरणले पनि तार व्यवस्थापनका लागि पटक–पटक सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ । तर, सेवा प्रदायकले अटेरी गर्दै आएका छन् ।