आइसीसी टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट नेपालमा आयोजना हुने

काठमाडौं । नेपालले आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने निश्चित भएको छ । २०२४ को टी–२० विश्वकप वेष्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने गरी तय भएको छ । २० टिमले प्रतिस्पर्धा गर्ने उक्त विश्वकपमा १२ टिले सिधै स्थान पक्का गरिसकेका भने ८ टिमले छनोटबाट स्थान बनाउनेछन् । एसिया क्षेत्रको छनोट आयोजनाको जिम्मेवारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानलाई इमेल गर्दै टी–२० विश्वकप एसिया छनोटको जिम्मा दिएको छ र यसमा सहभागी हुने अन्य टिमलाई पनि जानकारी गराएको क्यानको भनाई छ । टी२० विश्वकपको एसिया क्षेत्रको छनोट आगामी नोभेम्बर १ देखि १० सम्म हुनेछ । एसिया छनोटमा नेपालसहित युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् ।

बाँकी दुई टिम एसिया छनोटको क्वालिफायर चरण पार गरेर आउनेछन् । क्वालिफायरको समूह ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् भने समूह बी मा मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । दुवै समूहबाट शीर्ष स्थानमा रहने टिमले नेपालमा हुने अन्तिम छनोट खेल्ने छन् । एसिया क्षेत्रको मुख्य छनोटमा सहभागि ८ टोलीलाई दुई समूह्यमा विभाजन गरेर खेलाइनेछ भने शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुने छन् ।