अब घर किन्दा ७० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । पहिलो पटक घर किन्दै गरेका व्यक्तिलाई नेपाल राष्ट्र बैंकले खुसी बनाउने गरी नीति ल्याएको छ । अब कम पैसा भएपनि आफ्नै घरमा बस्ने तपाईको आँटमा बैंकले सजिलै साथ दिनेछ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७६ जारी गरेको छ । जहाँ आवास वा घर कर्जा सम्बन्धमा नयाँ प्रावधान ल्याइएको छ । अब ३० प्रतिशत रकम बुझाएपछि ७० प्रतिशतसम्म बैंकबाट घर कर्जा लिन सकिने भएको छ ।

यसअघि काठमाडौं उपत्यकामा घर किन्दा कम्तिमा ५० प्रतिशत रकम तिरेपछि मात्र ५० प्रतिशत बैंकले ऋण दिन्थ्यो । उपत्यका बाहिर भने ४० प्रतिशतसम्म तिर्नुपर्ने प्रावधान थियो ।

ऋणीले किस्ताबन्दीमा ऋण तिर्नु पर्छ । अब भने देशभर नै ३० प्रतिशत रकमको जोहो गर्न सक्ने हो भने ७० प्रतिशत पैसा बैंकबाट निकाल्न सकिने छ ।

यस्तो ऋण भने बैंकबाट घरकर्जा पहिलो पटक लिने ऋणीका लागि मात्र उपलब्ध हुने भएको छ ।घर ३ हजार वर्गफिट सम्मको क्षेत्रफलमा निर्माण भएको हुनसपर्ने प्रावधान राखिएको छ । त्यो भन्दा ठुलो क्षेत्रफल ओगटेको घरले यो सुविधा पाउने छैन ।

आम्दानीको स्रोतको रुपमा घर भाडामा लगाएर आएको आम्दानीलाई बैंकले आम्दानीको स्रोत मानी पैसा नदिने भएको छ ।