पाकिस्तानमा कोइला खानीका विषयमा विवाद हुँदा डेढ दर्जन मानिस मारिए

काठमाडौं । पाकिस्तानमा कोइला खानीका विषयमा भएको विवादमा दुई आदिवासी समुदायबीच झडप भएको छ । सो क्रममा कम्तिमा १६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानको कोहट सहरमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ ।

खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप भएको थियो । बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद छ । दुवै पक्षले आफ्नो अडान नछाडेपछि घटना भएको प्रहरी कार्यालयले जनाएको छ।