काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै बन्न थालेको बताएका छन् ।
बुधबार संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै थापाले नीति तथा कार्यक्रमको लक्ष्य र उद्देश्य प्रष्ट नभएको दाबी गरेका हुन्।
त्यो कसका लागि ? केका लागि ल्याइएको भन्ने बारेमा अस्पष्ट हुने गर्दा समस्याको समाधान नहुने गरेको बताए ।
थापाले भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा १८८ बुँदा छ, यसमा सरकारको इच्छा, छ, समीक्षा छ, योजना छ, कार्यक्रम पनि छ ।
सबै चिज छ, तर राम्ररी हेर्यो भने केही पनि छैन । पहिले नीति तथा कार्यक्रममा छोटो हुन्थ्यो, अहिले लामो आउँछ । समयक्रममा यसलाई हामीले सरकारको विज्ञापन गर्ने अस्त्र बनाएका छौँ ।’
उनले सरकारले उद्देश्यअनुसारका नीति र कार्यक्रमहरू अबलम्बन गर्नुपर्ने र तिनलाई आवश्यकताअनुसार परिमार्जन र व्यवस्थापन गर्नुपर्ने बताए ।
सांसद थापाले सरकारले नीति तथा कार्यक्रममार्फत् भ्रष्टाचार अन्त्य गर्नकालागि उपचारात्मक नीतिमात्रै उल्लेख गरेको भन्दै त्यतिले मात्रै भ्रष्टाचारको अन्त्य नहुने बताए ।
थापाले भने,‘पढ्दै गयो भने नीति तथा कार्यक्रममा सबै छ। इच्छा छ, समीक्षा छ, कार्यक्रम छ योजना, तर राम्रोसँग हेर्यो भने केही छैन। किनभने यो के का लागि ल्याइएको हो भन्ने कुरामा हामी सघन छलफल गरेनौं।’