नेपालको लगातार जित, मलेसिया २७ रनले पराजित

काठमाडौं । टी–२० शृंखलाको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टिमले मलेसियालाई २७ रनले पराजित गरेको छ । मलेसियालाई हराएसँगै नेपालले ५ खेलको शृंखलामा २–१ ले अग्रता लिएको छ ।
टस हारेर पहिला ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ११ रनको लक्ष्य मलेसिया सामु प्रस्तुत गरेको थियो । दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्रै बनायो ।

नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अविजित २७ रनको इनिङ खेलिन् । ज्योती पाण्डेले २३ रन योगदान गर्दा, सिता राना मगरले २१ रन र इन्दु वर्माले २० रन जोडे ।

मलेसियाको बलिङमा निक नुरले २ विकेट लिँदा ऐस्या इलेसा र विनीफर्डले समान एक विकेट लिए । मलेसियाको ब्याटिङमा माहिराले सर्वाधिक ४४ रन योगदान गर्दा विनीफर्डले २० रन जोडिन् । त्योबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।