इयूको कालोसूची पुनः दोहोरियो

काठमाडौं । नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची) पुनः दोहोरिएको छ । युनियनको अंग्रेजी महिना मेमा बस्ने सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा दोहोर्‍याएको छ । वर्षमा दुई पटक मे र नोभेम्बर महिनामा सुरक्षा काउन्सिलको बैठक बस्छ ।

सो बैठकले मात्र यो सूची रिभ्यू गर्छ । सोही कारण अब कम्तीमा ६ महिना नेपाल कालोसूचीमा यथावत रहने निश्चित भएको छ । ईयूले बुधबार यस्तो सूची अपडेट गरी सार्वजनिक गरेको छ । पोखरामा गत माघमा भएको जहाज दुर्घटनापछि नेपालको हवाई सुरक्षामा पुनः प्रश्न उठेको छ । नेपाल सन् २०१३ यता निरन्तर ईयूको कालोसूचीमा छ ।

यूरोपेली यूनियन मातहतको एभिएशन सेफ्टी एजेन्सी (आयसा)’ले अक्टोबर २०२२ मा एक मिसन नेपाल पठाएर हवाई सुरक्षाबारे अध्ययन गरेको थियो । सो मिसनपछि अर्को मिसन नेपाल पठाएर अध्ययन गर्ने तयारी पुरा नहुँदै पोखरा दुर्घटना भएको हो । कालो सूची लामो समयसम्म रहँदा वायुसेवा कम्पनीहरुले नेपाल र यूरोपमा सिधा उडान गर्न पाएका छैनन् । यसको मारमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स समेत रहेको छ ।