काठमाडौं । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रलगायत पार्टीसँग एकता पहल गर्ने निर्णय गरेको छ । भक्तपुरमा बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।
अध्यक्ष बाबुराम भट्टराई निकट नेता विश्वदीप पाण्डेले दिएको जानकारीअनुसार समाजवादी केन्द्ररध्रुव निर्माणको लागि समाजवादकेन्द्रित कार्यक्रमसहित एकताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको माओवादीबाट औपचारिक जवाफ आएपछि नेसपाले निर्णय गर्ने भएको छ ।
बैठकले अध्यक्ष–सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावमाथि व्यापक छलफल गरी एकमतले पारित गरेको उनले बताए । यस्तै असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।