काठमाडौं । आजबट तापक्रम बढ्ने क्रम रोकिने भएको छ । मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।
‘त्यसैले तराईका भू–भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिन्छ,’ महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा लेखिएको छ, ‘कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघ,गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’
शनिबार रातिदेखि नै कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ । कोशी प्रदेशको विराटनगरमा शुक्रबारदेखि नै तापक्रम घटेको थियो । बिहीबार विराटनगरको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस पुगेकोमा शनिबार ३५.३ मापन भएको थियो । वरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार अब क्रमशः बदलीको दिन बढ्ने छ र वर्षा पनि हुने छ । त्यसकारण तापक्रम पनि घट्ने हुँदा गर्मीबाट राहत मिल्ने छ ।
सोमबार र मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघ(गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा उल्लेख छ ।