काठमाडौं । सीमाको नजिक रहेको चन्द्रौटा बजारस्थित बालाजी सिमेन्ट इन्डस्ट्रिजले उत्पादन भारत निर्यात सुरु गरेको छ । त्यहाँबाट उत्पादित बाहुबली तथा श्रृष्टी ब्राण्डका पीपीसी सिमेन्ट भारत निर्यात सुरु भएको हो । भारत सरकार गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरेपछि निर्यात थालिएको उद्योग संस्थापक ऋषिकेश अग्रवालले बताए ।
पहिलो चरणमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट पठाइएकोछ । यहाँको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात गरिएको हो । जिल्लाबाट पहिलो पटक सिमेन्ट भारत निर्यात भएको उनले बताए । विस्तारै निर्यात परिमाण बढाउँदै लैजाने उद्योगको लक्ष्य छ ।भारतमा आईएसआई गुणस्तर चिन्ह नपाएका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । उद्योगले यसै महिना आईएसआई चिन्ह पाएको थियो ।
बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको उद्योगका प्रवन्ध निर्देशक रौनक अग्रवालले बताए । उद्योगले बाहुबली र श्रृष्टी ब्रान्डका ओपीसी ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । बालाजी सिमेन्ट इन्डस्ट्रिज २०७७ सालमा स्थापना भएको हो । उद्योगमा जर्मनको लोच्से कम्पनीको भीआरएम प्रविधि जडान छ । बालाजी सिमेन्टको बजार नेपालको पश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशमा अत्यधिक रहेको अग्रवालको भनाइ छ ।