मनसुन भित्रिएसँगै आज यी स्थानमा हुनेछ वर्षा

RSS

काठमाडौं । नेपालमा बुधबारबाट मनसुन भित्रिएको छ । मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा देखिने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भएको छ।

बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। बिहीबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राती पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन-चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।