‘वान एक्स बेट’ धन्दा : बल्छी ध्रुवे, राजु मास्टर र म्याकुरीसहित ८ जना पक्राउ

काठमाडौं । प्रहरीले वानएक्स बेट प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुको नाम सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका कलाकारको नाम सार्वजनिक गरेको हो ।

वानएक्स बेटिङ प्रकरणमा पक्राउ पर्ने कलाकारमा मरिचमान श्रेष्ठ ९बल्छी धुर्वे०, राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् ।

युट्युबसहित विभिन्न माध्यममा वानएक्स बेटको प्रचारप्रसार गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विभिन्न प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै उनीहरुले प्रचार गरेको प्रहरीको भनाई छ ।

यसअघि बुधबार मात्रै प्रहरीले वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो । सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले अनुसन्धानलाई तिव्र बनाएको थियो ।