काठमाडौं । मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । शनिबार बिहान २ बजे मुटुमा पुनः समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । अहिले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए । राष्ट्रपति पौडेल बुधबार मात्र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका थिए ।
मंगलबार बिहान अचानक छाती दुखेपछि उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो । अस्पतालमा पौडेलको मुटुको परीक्षण र २४ घन्टा चिकित्सकहरुको निगरानीपछि पौडेललाई अस्पतालले बुधबार बिहान डिस्चार्ज गरेको हो । अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको थियो । त्यसपछि एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको थियो ।