तीन प्रदेशमा आज वर्षा

RSS

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको बताएको छ। बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताइएको छ। अहिले कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ।

संखुवासभाको नुम स्टेसनमा भारी वर्षा मापन गरिएको छ। कोसी जलाधारभित्र पर्ने त्यस स्थानमा २४ घन्टाभित्र ३८१.२ मिलिमिटर वर्षा मापन गरिएको छ। दिउँसोपख कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा पनि आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने बताइएको छ।

कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी , मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको प्रक्षेपण गरिएको छ।