साफ फुटबल : आज नेपालले बलियो कुवेतको सामना गर्दै

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फूटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १४ औं संस्करण आजबाट भारतमा सुरु हुँदैछ । बेंगलुरुस्थित कान्तरभा स्टेडियममा बुधबार नेपालले बलियो टोली कुवेतको सामना गर्न लागेको हो । कुवेत प्रतियोगिताको पाहुना टोलीका रुपमा साफमा खेल्न लागेको हो ।

पहिलो पटक साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हालेका इटालियन युवा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको वास्तविक परीक्षा समेत आज हुँदैछ । ए डिभिजन लिग सकिएलगत्तै मैत्रीपूर्ण खेल खेल्न फिलिपिन्स पुगेको नेपालले एक हार बेहोरेको थियो । ३८ वर्षीय इटालियन नागरिक भिनसेन्चो नेपालको प्रशिक्षक छन् ।

मध्यपूर्वी राष्ट्र कुवेत पछिल्लो समय नेपालको लागि परिचित प्रतिद्वन्द्वी जस्तै बनिसकेको छ । २०१९ यता नै नेपालले कुवेतसँग पाँच खेल खेलिसकेको छ । तर नेपालले अन्तर्राष्ट्रिय फुटबलमा कुवेतलाई हराएको छैन । नेपालले अहिलेसम्म कुवेतविरुद्ध ९ खेल खेल्दा एक खेल मात्र बराबरी गरेको छ भने ८ खेलमा पराजित भएको छ ।

२०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको थियो । त्यही नै अहिलेसम्मको राम्रो नतिजा हो । पछिल्लो पटक २०२२ मा भएको एसिया कप छनोटमा नेपाल कुवेतसँग ४–१ ले पराजित भएको थियो । उक्त खेलमा नेपालका लागि दर्शन गुरुङले गोल गरेका थिए । तर उनी अहिले अष्ट्रेलियामा छन् ।