काठमाडौं । आगामी १४ मंसिरका लागि तोकिएको उपनिर्वाचनको तयारी तिब्र पारिएको छ । त्यस दिन हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो ।
स्थानीय तहमा हुने उपनिर्वाचनको मनोनयन दर्ता २७ कात्तिकका लागि राखिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार १० बजेबाट १ बजेसम्म मनोनयन दर्ता गरिसक्न पर्ने भएको छ ।
मनोनयन दर्ता सम्बन्धित क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा हुने आयोगले स्पष्ट पारेको छ । मनोनयन दर्तापछि बिहीबार नै उम्मेदवारको सूची प्रकाशित गर्ने कार्यसूचि राखिएको छ ।
शुक्रबार उम्मेदवार विरुद्ध उजुरी दिन सकिने छ । २३ कात्तिकमा आयोगले उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।
देशभर रिक्त ५२ पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । ३७ जिल्लाका पदहरु रिक्त रहेका हुन् ।
एक प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ स्थानीय तह प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र ४३ वडाअध्यक्ष पदका लागि निर्वाचन हुँद्यैछ । उपनिर्वाचनमा १०१ दलले भाग लिने आयोगले जनाएको छ ।