काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो ।
यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डल रहेको थियो । यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किएको हो । १ जनवरी २०२३ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।