वेस्ट इण्डिजसँग टाई गर्दै नेदरल्याण्ड्सले सुपर ओभरमा खेल जित्यो

काठमाडौं । रोमाञ्चक खेलमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्सले सुपर ओभरमा वेस्टइन्डिजलाई हराएको छ । नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई पहिलो पटक हराएको हो । नेदरल्यान्ड्सको जितमा अलराउन्डर लोगन भान बिक चम्किए । सुपर ओभरमा वेस्टइन्डिजलाई जितको लागि ३१ रन चाहिएको थियो । लोगन भान बिकलाई पहिलो बलमा जोनसन चार्ल्सले छक्का प्रहार गरे । दोस्रो र तेस्रो बलमा उनले एक–एक रन दिए । चौथो बलमा चार्ल्स क्याच आउट भएपछि वेस्ट इन्डिजको जितको सम्भावना सकिएको थियो ।

सुपर ओभरमा नेदरल्यान्ड्सले ३० रन बनाएको थियो । लोगन भान बिकले जेसन होल्डरको बलमा तीन छक्का र तीन चौकासहित कुल ३० रन जोडे । त्यसअघि जितको लागि ३ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७४ रन बनायो । यो नेदरल्यान्ड्सले ओडीआईमा बनाएको सर्वाधिक रन हो । खेल बराबर भएपछि सुपर ओभरमा पुगेको थियो ।