काठमाडौं । १२ बैशाख २०७२ भूकम्पले कमजोर बनाएपछि मर्मत थालिएको दशरथ रंगशालाको मर्मतको काम भूकम्पपछिको ४ वर्षसम्म पनि सकिएको छैन ।
उक्त रंगशालाबाहेक नेपालमा अन्तराष्ट्रिय मापदण्ड पुगेको अर्को रंगशाला पनि छैन । एउटा पनि स्तरीय रंगशाला नहुँदा नेपालले नै राष्ट्रिय लज्जा बेहोर्नु परेको छ ।
किनकी फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनका लागि छनोट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीच नेपालमा हुने होम गेम अब दशरथ रंगशालामा नहुने पक्का भएको छ । उक्त खेल ३ मंसिरमा निर्धारित थियो ।
रंगशालाको अन्तराष्ट्रिय मापदण्ड पुरा नभएकै कारण खेल नेपालमा नहुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रेस विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ ।
खेल भुटानमा गर्न फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले लेखेको छ । एन्फाले खेल भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा यो खेल आयोजनाको प्रस्ताव गरेको छ ।
मंगलबार एएफसीका प्रतिनिधिले रंगशालाको अवलोकन गरी तयारीका सम्बन्धमा प्रतिवेदन बुझाएका थिए । नेपालको तयारीबाट प्रतिनिधि असन्तुष्ट थिए ।
रंगशालाको आधारभूत पूर्वाधार नै निर्माण भइसकेको छैन । यस्तोमा खेल खेलाउँदा जोखिमपूर्ण हुने भन्दै एएफसी र फिफाले खेल अनुमति नदिने संकेत देखेपछि एन्फाले नेपालमा खेल नहुने स्पष्ट पारेको हो ।
एन्फाको यो निर्णयसँगै स्वदेशमा आफ्ना प्यारा खेलाडीको हौसला बढाउने नेपाली फ्यान भने निरास भएका छन् ।