चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा

काठमाडौं । चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौं आएका छन् । उनी सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएयको छ । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ ।

विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको पूरा नाम ज्याक मा युन हो । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् । उनी तीन दिन नेपालमा रहने र चितवन घुम्ने कार्यक्रम छ ।

फोर्ब्सका अनुसार आजको दिनमा उनको रियलटाइम सम्पत्ति २३.५ बिलियन अमेरिकी डलर छ । विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका मात्रै भए । इकमर्स बिजनेसमा आउनुअघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए । उनले अलिबाबा १९९९ स्थापना गरेका थिए ।

चीन बाहिर चिनियाँ बैभवको बिम्बका रुपमा ज्याकलाई लिने गरिन्थ्यो । तर, उनी सन् २०२० को सुरुवाततिरबाट अचानक सार्वजनिक जीवनबाट हराएका थिए । चीन सरकारका नीतिप्रति सार्वजनिकरुपमा आलोचना गरेपछि उनको कम्पनीले ल्याउन लागेको आईपीओ चीन सरकारले रद्द गरिदिएको थियो ।

उनलाई नजरबन्दमा राखिएको हल्लाकै वीच गत मार्च महिनामा उनी जापानमा देखिएका थिए । चीन सरकारसँग बिबाद भएर आईपीओ रोकिएयता उनी सार्वजनिक जीवनबाट टाढा गुमनाम बस्दै आएका छन् । उनी परिवारसहित टोक्योमा बसिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।