काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेको बताएका छन् । नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेस बदल्न आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताए ।
एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ सङ्कटमा पर्न गएको उनको भनाई छ । आफूले व्यक्तिको नभइ पार्टीनै बदल्ने कुरा गरेको बताए । थापाले प्रजातन्त्रमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबी समेत गरे ।
दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्नु उचित भएको उनको भनाइ छ । महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।