आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री

काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड संकटमा परेका छन् । गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनको राजीनामा मागेको छ ।

बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा उहाँ प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस्’ संसद अवरोधको औचित्यबारे नेकपा एमालेका सांसद रघुजी पन्तले भनेका छन् ।


पन्तले प्रधानमन्त्रीले राजीनामा दिएर अर्को सरकार गठनको प्रक्रिया बढाउन सुझाव दिए । ‘को मान्छे प्रधानमन्त्री बन्ने दलहरुले छलफल गर्लान् । तर जो दिल्लीतिर नफर्कने, नेपालतिर फर्कने, नेपाली माटोतिर फर्किने प्रधानमन्त्री चाहियो, जसले देशको गरिमा र मर्यादाको रक्षा गर्न सकोस्’, उनले भने ।

राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।

त्यो कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’ पुराना व्यवसायी सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले दिएको यस्तो अभिव्यक्तिमा विपक्षी दलहरु एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने आफूले बोल्दै नबोलेको कुरालाई लिएर बबण्डर गर्न खोजिएको बताएका छन् । ‘उहाँको (प्रितम सिंहको) बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन’,