भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले अनुदान दिने

काठमाडौं । भक्तपुरको मध्यपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन कोरियाले ९५ लाख अमेरिकी डलर खर्चिने भएको छ । अर्थ मन्त्रालय र नेपालीस्थित दक्षिण कोरियाली राजदूतावासबीच अस्पताल परियोजनाका लागि सम्झौता भएको छ । विश्वव्यापी चिकित्सा सेवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूतावासका राजदूत पार्क ते योङले परियोजना निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कोइकामार्फत ५ वर्षमा (सन् २०२७ सम्म) सम्पन्न हुनेगरी ९५ लाख अमेरिकी डलर (करिब १ अर्ब २३ करोड रुपैयाँ) अस्पताल परियोजनाका लागि खर्च गरिने मन्त्रालयले जनाएको छ । यो परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा कोइका, मध्यपुर थिमी नगरपालिका र हालको ‘नेपाल कोरियामैत्री नगरपालिका अस्पताल’ले कार्यान्वयन गर्नेछन् ।

मन्त्रालयका अनुसार कोइकाले नेपाल कोरियामैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शय्याको अस्पताल निर्माण गर्नेछ र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराई अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्नेछ । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले कोरिया नेपालको नजिकको विकास साझेदारका रूपमा रहँदै आएको उल्लेख गरे ।