आइतबारबाट महोत्तरीसम्म चल्ने भयो रेल

काठमाडौं । जयनगर–जनकपुर–कुर्थासम्म सञ्चालन हुँदै आएको रेल आइतबारदेखि महोत्तरीको भंगाहसम्म चल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटरमा आइतबार बिहान साढे १० बजे रेल सेवा उद्घाटन गर्ने कार्यकम छ । भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेल्वे ट्रयाक गत जेठ १८ गते नेपाल रेल्वे कम्पनीका प्रमुख झालाई हस्तान्तरण गरिसकेको छ ।

अहिले जयनगर– विजलपुरा स्टेसनसम्म दैनिक एकपटक रेल सेवा सञ्चालन गर्ने तयारी छ । यात्रुको माग अनुसार सेवा थप गर्दै जाने योजना रहेको रेल्वे कम्पनीले जनाएको छ । रेल्वे कम्पनी नयाँ रेल खरिदको प्रक्रियामा रहेको समेत बताइएको छ । अहिले जयनगर –जनकपुर–कुर्था ३५ किलोमिटर खण्डमा दैनिक २ पटक रेल सेवा सञ्चालन भैरहेको छ ।

जयनगरदेखि भंगाहा बिजलपुरा स्टेसनसम्म जम्मा ५२ किलोमिटर रेलखण्डमा अब रेल सञ्चालन हुने भएको छ । बिजलपुरा देखि बर्दिबास खण्डमा रेल्वेको काम भने अझै अघि बढ्न सकेको छैन । मुआब्जा विवादमा अल्झिएको सो खण्डमा पनि हाल विवाद सल्टिसकेकाले छिट्टै काम सुरु हुने र २ वर्षभित्रै बर्दिवाससम्म रेल चलाउने तयारी रहेको छ ।