अस्पतालमा बढ्न थाले सरुवा रोगका बिरामी

काठमाडौं । वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा देखा पर्ने सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। ती अस्पतालमा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रबटाइपस, ठेउला, डेङ्गु, दादुरा, जन्डिसलगायतका रोग लिएर उपचारमा जानेको सङ्ख्या बढेको छ।

चिकित्सकहरूले पछिल्लो समय अस्पतालहरूमा गर्मी मौसममा लाग्न सक्ने रोगका कारण बिरामीको सङ्ख्या बढिरहेकाले सतर्कता अपनाउन सुझाव दिएका छन्। सन् २०२३ मा उन्मूलन गर्ने भनिएको दादुरा सङ्क्रमण भएर कान्ति अस्पतालमा दैनिक एक, दुई जना बिरामी आउने गरेका छन्।

यस्तै कान्तिबाल अस्पतालको बहिरङ्ग सेवामा एक हजारदेखि एक हजार दुई सयसम्म बिरामी आउने गरेका छन्। अस्पतालका अनुसार पछिल्ला दिनमा झाडापखाला, आउँ, रुघाखोकी, ज्वरो तथा दादुराका बिरामी आउने गरेका छन् । कतिपय बिरामी शरीरमा पानी नभएर जलविनियोजनको अवस्थामा अस्पताल आएको समेत अस्पतालको भनाई छ ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश कोइरालाका अनुसार जाडो मौसमभन्दा गर्मीमा सरुवा रोग लागेर आउने बढी हुन्छन् । उनका अनुसार अस्पतालमा दैनिक दुई हजार पाँच सय बिरामी आउने गरेकामा तीन सय बिरामी झाडापखाला, ज्वरो, फुड पोइजन, टाइफाइड, मलेरियालगायतका समस्या लिएर आउने गरेका छन् । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार गर्मी मौसममा ज्वरो, टाइफाइड, एलर्जीलगायतका समस्या लिएर बिरामी आउने गरेका छन्