काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान सुरु गरिएको छ । राजश्व अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको हो । बरामद भएको सुन झण्डै एकसय किलोको भएको अनुमान गरिए पनि यकिन परिमाण आज थाहा हुने बताइएको छ । सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा ट्याक्सी चालकसहित ६ जना पक्राउ परेका छन् ।
विमानस्थल पास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला हिजो बरामद भएको हो । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन बरामद भएको हो ।
एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको विभागको भनाइ छ । यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए । यो घटनामा ठूलो व्यापारी संलग्न रहेको अनुमान गरिएको छ । यद्दपी विभागले कुनै तथ्य सार्वजनिक भने गरिसकेको छैन ।