काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन नेपाल राष्ट्र बैंकमा लगेर जोखिने भएको छ । यसले सुनको वास्तविक तौल पत्ता लाग्ने छ । राजश्व अनुसन्धान विभागले सुन झण्डै एक क्विन्टल भएको हुन सक्ने अनुमान गरेको छ । यस प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परिसकेका छन् ।
विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको छ । थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन् ।
अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो ।