नेपालबाट ३८ वर्षअघि हराएको मूर्ति बेलायतमा भेटियो, नेपाललाई फिर्ता

काठमाडौं । ललितपुरको पाटनबाट सन् १९८५ मा हराएको प्राचीन मूर्ति बेलायतबाट नेपाल सरकारलाई फिर्ता गरिएको छ । ११औं शताब्दिको उक्त सूर्य मूर्ति बेलायतले नेपाललाई यही बिहीबार फिर्ता गरेको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

लण्डनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कलाकृति ७९ सेन्टिमिटर उचाइ, १५ सेन्टिमिटर चौडाइ र ४१ किलोग्राम तौल रहेको जनाएको छ । दूतावासले जारी गरेको विज्ञप्ति अनुसार उक्त मूर्ति बेलायती निजी संकलकले दूतावासलाई हस्तान्तरण गरेका थिए ।

यस्तै उक्त मूर्ति नेपाल सरकारको पूरातत्व विभागमार्फत् यसको वास्तविक स्थानमै पठाइने पनि बताइएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा सांस्कृतिक कलाकृति फिर्ता गरिनुले हराएको सांस्कृतिक वस्तुको पुनःस्थापनाका लागि नेपालको प्रयासमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख छ ।