अमेरिकामा मेसीको सानदार इन्ट्री, मियामीका लागि पहिलो खेलमै उत्कृष्ट गोल

काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीको डेब्यु खेलमै उत्कृष्ट गोल गरेका छन् । उनको निर्णायक गोलको मद्दतमा क्लव विजयी भएको छ । गतसाता मात्र मियामीमा अनुबन्ध भएका मेस्सीले लिग्स कप २०२३ अन्तर्गत क्रुज अजुलविरुद्ध गोल गर्दै मियामीमा सुखद डेब्यु गरेका हुन् । लिग्स कप अन्तर्गत शनिबार बिहान भएको खेलमा मियामीले क्रुज अजुललाई २–१ गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा मियामीले ४४औं मिनेटमा सुरुवाती गोल गरेको थियो । रोबर्ट टेलरले गोल गरे । त्यसपछि ५४औं मिनेटमा क्रुज अजुलका रिएल अन्तुनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । अन्तिममा बराबरीमा धकेलिएको खेलको इन्जुरी समयमा मेस्सीले करिव २५ यार्ड टाढाबाट फ्रिकिकमा दर्शनिय गोल गर्दै टोलीलाई जित दिलाए ।

३६ वर्षको ढल्कँदो उमेरमा मेस्सीले पहिलो पटक युरोप बाहिरको क्लबमा खेल्दैछन् । उनले यसअघि दुई सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बिताए । मेस्सीले त्यसअघि २१ वर्ष स्पेनिस क्लब बार्सिलोनामा खेलेका थिए । मेस्सीले मियामीमा सन् २०२५ सम्म रहने सम्झौता गरेका छन् ।