काठमाडौं । नेपालको सार्वजनिक ऋण २२ खर्ब माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९–८० सम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो । यस अवधिसम्म आन्तरिक ऋण ११ खर्ब २८ अर्ब ३२ करोड रुपैयाँ र बाह्य ऋण १० खर्ब ९३ अर्ब ३४ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७५–७६ मा सार्वजनिक ऋण १० खर्ब ४८ अर्ब रुपैयाँ मात्र थियो । आर्थिक वर्ष २०७८–७९ को अन्तिमसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७९–८० मा मात्र २ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।
यो रकम नेपाल सरकारले यस वर्ष भुक्तानी गरेको ऋण घटाएर थपिएको खुद सार्वजनिक ऋण हो । १ वर्षको अवधिमा सरकारले ३ खर्ब ५८ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ । जसमध्ये २ खर्ब ५५ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण हो । १ खर्ब २ अर्ब १२ करोड रुपैयाँ बाह्य लिएको छ । एक वर्षमा सरकारले १ खर्ब ४९ अर्ब ७३ करोड रुपैयाँ भने साँवा भुक्तानी गरेको छ ।
यस अवधिमा १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ आन्तरिक ऋणको र ३४ अर्ब ६१ करोड रुपैयाँ बराबर बाह्य ऋणको साँवा भुक्तानी भएको छ । जसले गर्दा एक वर्षमा सवा २ खर्ब रुपैयाँ ऋण थपिएको हो । एक वर्षको अवधिमा सरकारले ब्याज र कमिसन भुक्तानीमा मात्र ७३ अर्ब रुपैयाँ खर्च गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋणको ब्याज भुक्तानीमा ६४ अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ । आन्तरिक ऋणको कमिसनमा ११ करोड खर्च भएको छ । बाह्य ऋणको ब्याज भुक्तानीमा भने ८ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । सरकारले यस वर्ष मंसिरबाटै आन्तरिक ऋण उठाउन थालेको थियो ।