काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाएर छुट सुविधा लिन पाउने समेत जनाएको छ ।
महानगरले तीर्न/बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ ।
यसैगरी महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा भाडामा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर सम्वत् २०८० पुस मसान्तभित्र चुक्ता गरेमा थप ३० प्रतिशत छुट सुविधा रहेको सूचनामार्फत जनाइएको छ ।
व्यावसायिकरुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने जनाइएको छ ।