काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिक निषेध अभियानलाई कडाइ गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमा ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, प्लास्टिकका फूल तथा सजावटका सामग्री प्रयोग गर्न नपाइने घोषणा गरेको थियो ।
सोही अनुसार काठमाडौं महानगरपालिकाले अनुगमनमा कडाइ गर्न लागेको हो । बजेटमा महानगरपालिकाले ‘४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध’ गर्ने उल्लेख गरेको छ ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले प्लास्टिकको अनुगमन गर्न टोली परिचालन गर्ने बताएका छन् । ‘हामीले वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौं,’ मेयर शाहले भनेका छन्, ‘प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ ।’
महानगरका अनुसार अनुगमन टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्नेछ । ‘पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्ने छ भने प्लास्टिकका फूल, प्लास्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन,’ अनुमगन टोलीलाई दिएको निर्देशनमा भनिएको छ । महानगरपालिकाका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ५० लाख थान प्लास्टिक झोलाको प्रयोग हुने अनुमान छ ।