साँवा ब्याज तिर्न नसक्दा यौन शोषण गर्दै घरजग्गा हडप्ने व्यक्ति पक्राउ
काठमाडौं । उपचारका लागि ऋण लिएको पाँच लाख रुपैयाँको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा ललितपुरको ठेचोकी ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको खुलासा भएपछि मिटरब्याजी सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर ठेचोका सुर्जमान मालीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले ०७५ सालमा श्रीमान बिरामी हुँदा उपचारका लागि सुर्जमानबाट ऋण लिएकी थिइन् ।
सुर्जमानले पाँच लाख रुपैयाँ ऋणको मासिक ब्याज मात्रै ५० हजार तिर्नुपर्ने भनेपछि पीडित महिलाले पाँच लाख रुपैयाँको मासिक ५० हजारका दरले दुई पटक ब्याज तिरेकी थिइन् । साँवा घटाउने उद्देश्यले उनले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर दुई लाख रुपैयाँ सुर्जमानको हातमा थमाइन् । सुर्जमानले भने साँवा नकटाएर ब्याजमात्रै कटाए । त्यसमाथि सुर्जमानले ऋण र ब्याज एकमुष्ट तिर्न ताकेता गरिरहन्थे ।
उनले तिर्न नसकिरहेको बेलामा ऋणब्याज मिनाहा गरिदिने बाध्यतामा पारेर सुर्जमान र उनका साथीहरुले पीडित महिलालाई चार पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । साथै महिलाले माइतीबाट पाएको घरजग्गा नै सुर्जमानले हडपेको प्रहरीले जनाएको छ । सुर्जमानले जिल्ला अदालत ललितपुरमा नक्कली कागजात खडा गरेर ती पीडित महिला बस्दै आएको घर हडपेका थिए ।
पीडित महिलाले आफूमाथि भएको ज्यादतीबारे शुक्रबार दिउँसो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर सुनाएपछि गृहमन्त्री श्रेष्ठले सुर्जमानलाई कानुनी कारबाहीको दायरामा ल्याउन ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । अनुचित लेनदेन (मिटरब्याज) को समस्या समाधान गर्न गठित आयोगले जिल्ला प्रशासन कार्यालयलाई साहु र ऋणीलाई छलफल गराएर लेनदेन मिलाउने अधिकार दिएको छ ।