काठमाडौं । पाकिस्तानको कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम–फजलका कार्यकर्ताहरूको र्यालीमा शक्तिशाली बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । साथै २ सय जना घाइते भएका छन् ।
अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो । विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ ।
कार्यवाहक सञ्चारमन्त्री फिरोज शाह जमालले घटनाको पुष्टी गर्नुका साथै बजौर र छिमेकी क्षेत्रका अस्पतालहरूमा उच्च सतर्कता अपनाइएको बताएका छन् । साथै गम्भीर घाइतेहरूलाई पेशावर र अन्य अस्पतालमा लगिएको पनि उनले बताए । बजौर जिल्लाका अधिकारीहरूका अनुसार विस्फोटको क्रममा जमियत उलेमा इस्लाम–फजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ ।
बजौर जिल्लाका स्वास्थ्य अधिकृत पैसल कमालले विस्फोटमा घाइते भएका १ सय ५० जनालाई बजौर जिल्ला सदरमुकामका अस्पतालमा उपचार गरिएको बताएका छन् । जवकि गम्भीर घाइतेहरूलाई हेलीकोप्टरमार्फत् पेशावरस्थित लेडी रिडिङ हस्पिटलमा लगिएको छ ।
पाकिस्तानी सञ्चारमाध्यम डनन्युजका अनुसार विस्फोटको क्रममा घटनास्थलमा रहेका एक स्थानीय पत्रकार पनि घाइते भएका छन् । साथै विस्फोटको समयमा जमियत उलेमा इस्लाम-फजलको कार्यक्रममा ५ सयभन्दा धेरै मानिस भेला भएका थिए ।