किन विवादमा फस्यो बलिउड चलचित्र ‘बवाल’ ?

काठमाडौं । बलिउड चलचित्र बवाल विवादमा तानिएको छ । व्यवस्थित रूपमा मच्चाइने नरसंहार तथा प्रलयलाई धेरै हल्का रूपमा प्रस्तुत गरिएको भन्दै चलचित्र प्रदर्शन रोक्न भनिएको छ । अनलाइन प्रसारण माध्यम अमेजनलाई यहुदी समुदायले चलचित्र प्रसारण रोक्न पत्राचार समेत गरेका छन् ।

यहुदी समुदायको संगठन साइमन सेन्टरले चलचित्रले असह्य पीडा र व्यवस्थित ढंगबाट गरिएको मानवीय नरसंहारलाई चलचित्रले निकै हलुका रुपमा प्रस्तुत गरेको र मजाक उडाएको उल्लेख गरेको छ । चलचित्रको भारतमा समेत आलोचना भइरहेको छ । कलाकार तथा निर्देशकहरुले भने आलोचनालाई अनुचित भनेका छन् ।

शुक्रबार प्राइम भिडियोमार्फत सार्वजनिक भएको चलचित्रको समीक्षक तथा दर्शकले आलोचना गरेका हुन् । केन्द्रीय पात्रको प्रेमकथा प्रस्तुतिका लागि नरसंहारलाई मजाक उडाइएको भन्दै आलोचना भएको हो । चलचित्रमा एडोल्फ हिट्लरले यहुदीको नरसंहारका लागि प्रयोग गरेको ग्यास च्याम्बरमा अतिनै काल्पनिक दृश्य समावेश छ । चलचित्रमा बरुण धवन र जानवी कपुर केन्द्रीय भूमिकामा छन् । नवविवाहित जोडीका रुपमा रहेका उनीहरु युरोप भ्रमणमा गएका हुन् ।

चलचित्रमा उनी इतिहासका शिक्षक छन् र विद्यार्थीलाई दोस्रो विश्वयुद्धको इतिहास पढाउन र बुझाउनका लागि उनले रिल बनाइरहेका हुन्छन् । बलिउड चलचित्रको व्यापार ट्र्याक गर्ने वेबसाइटका अनुसार बवाल व्यापारिक रुपमा हिट छ । उसले ६० देखि ७० लाख दर्शक पाइसकेको छ । प्राइम भिडियोले यसलाई भारतमा टप टेनको सुचीमा राखेको छ।

चलचित्र रिलिजको दिनदेखिनै आलोचनामा फसेको छ । यो चलचित्रले सकारात्मक पृष्ठपोषण पाएको छैन । समीक्षकहरुले यो चलचित्रमा ग्यास च्याम्बरको काल्पनिक दृश्यले दर्दनाक इतिहास र मानवीय नरसंहारमाथि मजाक उडाएको टिप्पणी गरेका छन् । चलचित्रको एक दृश्यमा हिटलरलाई मानवीय लालचको विम्बको रुपमा प्रयोग गरिएको छ । आफ्नो संवादमा नायिका कपुर भन्छिन्, ‘हामी केही न केही मात्रामा हिटलरझैँ छौँ । छैनौँ र ?’

र सम्बन्धका दरार चित्रण गर्नका लागि उनी अस्वीचको सहारा लिन्छन् । ‘हरेक सम्बन्धहरुले अस्वीचको नियती भोग्नुपर्छ’, अर्को संवादमा उनी भन्छिन् । जान्वीका केही संवाद निकैनै आलोचित भएका छन् । क्याम्पमा त्रासदीपूर्ण दृश्य देखाउनका लागि अर्धनग्न जोडीहरुलाई ग्यान च्याम्बरमा हालिन्छ र वरिपरि धेरै मानिसहरु चिच्याएको र निस्सासिएको देखाइन्छ ।

मानवअधिका सम्बन्धी यहुदी संस्थाले अस्वीचलाई सम्बन्धको विम्बको रुपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ । ‘मानवीय नरसंहारको निकृष्ट उदाहरणलाई मानवीय सम्बन्धको विम्बका रुपमा प्रयोग गरिनु जायज होइन’, संस्थाले भनेको छ । त्यस संस्थाको विज्ञप्तिमा भनिएको छ, ‘मानवीय सम्बन्धहरुले अस्वीचमाझैँ नियति व्यहोर्नुपर्ने कुरा उल्लेख गरेर निर्देशकले मानवीय नरसंहार र ६० लाख यहुदीको दर्दनाक नरसंहारमाथि मजाक उडाएका छन् ।’

संस्थाले निर्देशकको उद्देश्य यदि मानवीय नरसंहारको मजाक उडाउनुथियो भने उनी त्यसमा सफल भएको भन्दै व्यंग्य गरेको छ । संस्थाले अमेजन प्राइमलाई तत्कालै चलचित्र हटाउन भनेको छ । यस विषयमा निर्माताले कुनै जवाफ दिएका छैनन् ।

तर चलचित्रको प्रवर्द्धन यात्राका क्रममा बरुणले भनेका छन्’‘अंग्रेजी चलचित्रमा जस्तो दृश्य राखेपनि मानिसहरुलाइ आपत्ति हुँदैन । तर हिन्दी चलचित्रमा सानो केही अंश राखियो वा पर्‍यो भने मानिसहरु त्यसमा आक्रोशित हुन्छन् ।’

चलचित्रका निर्देशक नितेश तिवारीले आलोचनाबारे भनेका छन् , ‘कलालाई म्याग्निफाइङ ग्लासका साथ हेरिनुहुँदैन । यदि त्यसो गरियो भने हरेक कलामा समस्यै समस्या देखिनेछन् ।’