काठमाडौं । विश्वको प्रमुख तेल उत्पादक साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ ।
बिहीबार साउदीको ऊर्जा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै आगामी सेम्टेम्बरसम्म दैनिक १० लाख ब्यारेल तेल घटाउने घोषणा गरेको हो । साउदीले विगत ३ महिनादेखि तेल उत्पादन घटाउँदै आएको छ ।
‘साउदी अरबले प्रति दिन १० लाख ब्यारेलको तेल कटौती स्वैच्छिकरुपमा बढाउनेछ । थप अर्को एक महिना सेप्टेम्बरसम्मका लागि निर्णय तत्काल कार्यान्वयनमा आउनेछ,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
पहिलो पटक जुलाईका लागि लागू भएको यो कटौती अझै लामो वा अझ गहिरो हुन सक्ने ऊर्जा मन्त्रालयले जनाएको छ । यस कदमले विश्वको सबैभन्दा ठूलोमध्ये एक कच्चा तेल निर्यातकर्ताद्वारा दैनिक उत्पादनलाई लगभग ९० लाख ब्यारेल बजारमा पठाउनेछ ।
‘तेल बजारको स्थिरता र सन्तुलनलाई समर्थन गर्ने उद्देश्यले ‘ओपेक प्लस’ देशहरुले गरेको सावधानीको प्रयासलाई सुदृढ गर्न स्वैच्छिक कटौती गरिएको हो,’ ऊर्जा मन्त्रालयले भनेको छ ।
साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुलअजीज बिन सलमानले २३ राष्ट्रको ओपेक प्लस गठबन्धनको जुनमा भएको बैठकपछि कटौतीको घोषणा गर्दै यो कटौती पनि सम्भावित ‘विस्तारयोग्य’ भएको उल्लेख गरेका छन् । यसले अप्रिलमा धेरै ओपेक सदस्य राष्ट्रहरुले स्वेच्छिक रुपमा प्रतिदिन १० लाख ब्यारेलभन्दा बढी उत्पादन कटौती गर्ने निर्णय लाई पछ्याएको हो ।
यो आश्चर्यजनक कदमले केही समयको लागि मूल्यहरूलाई समर्थन गरेको भए पनि स्थायी सुधार ल्याउन असफल भएको छ । युक्रेनमा रुसी आक्रमण र चीनको कमजोर आर्थिक पुनःरुत्थानको निरन्तर परिणामलाई प्रतिबिम्बित गर्दै तेल उत्पादकहरु घट्दो मूल्य र उच्च बजार अस्थिरतासँग जुधिरहेका छन् ।
विगत डेढ महिना यता अन्तर्राष्ट्रिय बजारमा कच्चा चेलको भाउ लगातार बढिरहेको छ । यस अवधिमै कच्चा तेलको भाउ १५ देखि २१ प्रतिशतसम्म बढेको छ । साउदी उत्पादन कटौती घोषणाले आपूर्तिमा कर्मी आई आगामी दिनमै तेलको भाउ झनै बढ्ने देखिन्छ ।एजेन्सी