काठमाडौं । काठमाडौं महानगरपालिकाले पिउने पानीको जारको अनुगमन सुरु गरेको छ । कार्यालय, होटल, रेष्टुरेन्ट एवम् घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन सुरु गरेको महानगरले जनाएको छ । पिउने पानीको लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घरको अवस्था लगायतका बारेमा अनुगमन सुरु भएको मेयर बालेन शाहले जानकारी दिएका छन् ।
आइतबार त्रिपुरेश्वरको विभिन्न पसलहरुमा खानेपानी जारको अनुगमन भएको छ । अनुगमनको क्रममा माता वैष्णवदेवी फुड एण्ड वेभरेज कम्पनीको जार नष्ट गरिएको छ । उत्पादन एवम् उपभोग्य मिति नलेखिएको, बिर्कोबाट पानी चुहिएको जार नष्ट गरिएको बताइएको छ । महानगर प्रहरीका अनुसार माता वैष्णवदेवी फुड एण्ड वेभरेज कम्पनीले नै महानगरको कार्यालय सहित अन्य स्थानमा पानी सप्लाइ गर्दै आएको थियो ।