काठमाडौं । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको आपत्कालीन मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार नेपाली र जापानी संस्कृति अनुसार अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मन्त्री ज्वाला, नेपालस्थित जापानी राजदूत र जाइकाका प्रमुखले नेपाली र जापानी संस्कृति अनुसार नरिवल फुटाएर चामल, वाइन, नुन र फुलबाट संयुक्त पूजा गरेर मार्ग खोलेका हुन् । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले दुई हजार ५५७ मिटरमध्ये दुई हजार ५५६ मिटर खन्ने काम पूरा भइसकेको जानकारी दिए ।
सुरुङ मार्गमा धादिङ (पश्चिम) तर्फबाट प्रवेश गरी काठमाडौँ (पूर्वतर्फ) निस्किने कार्यक्रम छ । मुख्य र सहायक सुरुङ जोड्न निर्माणाधीन सात वटा ‘क्रस प्यासेज’ को कुल लम्बाइ १२८ मिटरमध्ये अब १२ मिटर मात्र खन्न बाँकी छ । आयोजनाका प्रवक्ता कोइरालाले मुख्य सुरुङ मार्ग आगामी असोजमा छिचोलिने जानकारी दिए । मुख्य सुरुङ मार्गको दुई हजार ६८८ मिटरमध्ये दुई हजार १८८ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । अहिले धादिङ र काठमाडौँ दुवैतिरबाट तीव्र गतिमा सुरुङ खन्ने काम भइरहेको उनको भनाइ छ ।
आयोजनाको सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भइसकेको छ भने आयोजनाको समग्र भौतिक प्रगति ८० प्रतिशत छ । यसैगरी आर्थिक प्रगति ६३ प्रतिशत पुगेको छ । अहिलेसम्म आयोजनाका लागि जग्गा खरिदमा करिब सात अर्ब र भौतिक संरचना निर्माणमा आठ अर्ब रुपियाँ खर्च भइसकेको छ।