वैदेशिक रोजगारीमा गई ज्यान गुमाउने श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढ्ने

File Photo

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने भएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

क्षतिपूर्ति रकमलाई समसामयिक बनाउनु पर्छ भनेर यस वर्ष बजेट विनियोजन भएको भन्दै मन्त्रालयले अब कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने तयारी गरेको हो । अहिले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा नै मृत्यु भएमा परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति पाइरहेका छन् । यसलाई वृद्धि गर्ने तयारी सरकारले गरेको हो ।

मन्त्रालयका अनुसार क्षतिपूर्ति रकम बढाएर ९, १० वा १२ लाख कति पुर्‍याउने भन्ने बारे कार्यविधिले नै तोक्ने भएको छ । मन्त्रालयका अनुसार यसै कार्यविधिले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने श्रमिकका सन्ततिले पाउने छात्रवृत्ति रकमलाई समेत वृद्धि गर्ने भएको छ । सरकारले शिशु कक्षादेखि कक्षा १२ सम्म पढ्न छात्रवृत्ति दिने गरेको छ ।

अहिले ८ कक्षासम्मको अध्ययनका लागि वार्षिक ८ हजार रुपैयाँ छात्रवृत्ति दिइन्छ । ८ कक्षाभन्दा माथि पढ्ने विद्यार्थीले भने वार्षिक १२ हजार रुपैयाँ पाउँदै आएका छन् । यो रकम समेत कति पुग्ने भन्ने बारे कार्यविधिले तोक्ने भएको छ । मृतक परिवारले पाउने क्षतिपूर्ति रकमसँगै विदेशमा पुगेर अङ्‍गभङ्‍ग भएर फर्कने, दुःख पाएर फर्कने र अवैधानिक रुपमा पुगेर दुःख पाएका श्रमिकलाई समेत क्षतिपूर्ति उपलब्ध गराउने गरी कार्यविधि बन्ने छ ।

सरकारले श्रमिकको हितका लागि क्रियासिल कोषहरुलाई समेत अब एकीकृत रुपमा सञ्चालन गर्ने भएको छ । रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा गरी अहिले श्रमिकका लागि तीन वटा कोषबाट क्षतिपूर्ति रकम प्रदान गरिँदै आएको छ । अब यी तीन वटै कोषलाई एकीकृत गरी लैजाने गरी गृहकार्य भइरहेको समेत मन्त्रालयले जनाएको छ ।