काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले सामानको ढुवानी सेवा पनि सुरु गरेको छ । काठमाडौं उपत्यकाभित्र कतै सामान पुर्याउनका लागि बुधबारदेखि पार्सल सेवा सुरु गरिएको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । ‘पठाओको मोबाइल एपमार्फत नै यो सेवा लिन सकिन्छ’ उनले भने ‘पार्सल सेवाका लागि पठाओका राइडरहरु परिचालन हुनेछन् ।’ पार्सल सेवा पनि राइड सेयरिङ सेवाजस्तै छिटोछरितो र सुरक्षित हुने थापाको दाबी छ ।
‘पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन्’ उनले भने ‘सामानहरू पार्सल गर्दा केही हानी, नोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति समेत हुनेछ ।’ चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिने कम्पनीले जनाएको छ ।
यसअघि बाइक, कार लाइट ९ट्याक्सी०, पठाओ बजार र पठाओ फुडको सेवा दिँदै आएको यसले पार्सलको सुविधा विस्तार गरेको जनाएको छ । बार्गेनिङको झन्झट नहुने, चोकसम्म यातायात खोज्न जान नपर्ने, गेटदेखि गेटसम्म सेवा पाइने, डिजिटल भुक्तानी गर्न मिल्ने, यात्राको समयमा लाइभ ट्रयाकिङको व्यवस्था हुने, १० लाख रुपैयाँसम्मको बीमा सुविधा पठाओमा रहेको थापाले बताए ।