काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा पक्राउ पर्ने चिकित्सकको संख्या ५ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चलाएको अपरेसन ‘फोक्सट्रोट चार्ली’ मा सांसद् सुनिल शर्मासहित पाँच जना पक्राउ परेको सीआईबीले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा पिपरा–८, महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पताल मा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाह छन् । शाहलाई सीआईबीले काठमाडौंबाट पक्राउ गरेको हो भने यादवलाई रौतहटबाट पक्राउ गरिएको हो ।
सीआईबीले नक्कली शैक्षिक प्रमाण पत्र भएका चिकित्सकहरुविरुद्ध बिहीबार दिउँसो उपत्यकासहित विभिन्न जिल्लामा एकसाथ अपरेशन चलाएको थियो । त्यहीक्रममा पाँच जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई ब्यूरोले लाजिम्पाटस्थित नयाँ कार्यालयमा राखेको छ ।
अपराह्न शर्मालाई गोल्फुटारस्थित घरबाट पक्राउ गरेको थियो । उनले आईएस्सीको शैक्षिक प्रमाण पत्र नक्कली लिएर थप अध्ययन गरेको सीआईबीले जनाएको छ । बिहीबारै सीआईबीले उनी पक्राउ परेको बारे संसद् सचिवालयलाई जानकारी गराइसकेको छ ।