एमालेले भन्यो ‘सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बरामद भएको १०० केजी अवैध सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नता रहेको जनाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा उल्लेख गरेका हुन्।

एमालेले ई-सिगरटे प्रकरणमा सत्तारुढ पार्टीका नेता (कृष्णबहादुर महरा) माथि सोधखोज समेत नगरेकोमा आश्चर्य व्यक्त गरेको छ।

‘सत्तारुढ दलकै नेताको भूमिमा तस्करीमा जोडिएको प्रष्ट भइसक्दा पनि सरकार पक्राउ गरेर छानबिन गर्न तयार छैन’, एमालेले भनेको छ, ‘ललिता निवास प्रकरणमा मुख्य भूमिमा खेल्नेलाई आजका मितिसम्म बयानसम्म गर्न नसक्ने सरकारको भूमिकामाथि अनेक कोणबाट प्रश्न उठेका छन्।’

‘एमालेले सुन प्रकरण र चर्चामा रहेका सबै भ्रष्टाचार, अनियमितता र घोटालाहरूको निष्पक्ष छानबिन हुनुपर्छ । तस्करी र राज्यको साधन स्रोतको दोहन गर्ने अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउनु पर्छ भन्नेमा स्पष्ट छौं । यसका लागि निरन्तर प्रयत्नशील छौं । वर्तमान सरकार राष्ट्रियहितको रक्षा गर्न पूर्णतः असफल भएको छ । सरकार टिकाउन जस्तो सुकै शक्तिसँग जस्तोसुकै सम्झौता गर्न तयार हुने सरकारले आगामी दिनमा मुलुकलाई झनै जोखिमतिर धकेल्ने टड्कारो छ,’ एमालेले भनेको छ ।