काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सोमबार राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्ने उनले जानकारी दिएका छन् ।
रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको बताइएको छ । चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् । रातभर काम निरन्तर भएको हो । गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् ।
ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरीले अनुरोध गरेको छ । काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैंडाकोटमा रोकिएको छ ।